दमौली (तनहुँ), ४ माघ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ ।
नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत सुनिश्चित रहेको र घोषणामात्र हुन बाँकी रहेको बताउनुभयो । सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले संविधानको विरुद्धमा लागेको तत्वलाई निस्कृय बनाउन गठबन्धनलाई अझै बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानले यसअघिको निर्वाचनमा मत बदर भएकाले यसपटकको निर्वाचनमा मत बदर हुन नदिन सचेतना जगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, पूर्व प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कलिला खान लगायतले देश विकास र समृद्धिका लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो । राष्ट्रियसभा सदस्यहरुले माघ ९ गतेसम्म प्रचारप्रसार र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाइएको छ ।
मतभारका दृष्टिले निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशसभामा ६० र स्थानीय तहका एक सय ७० मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्