ललितपुर, २९ मंसिर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिहीबार ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन ।
‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ’, अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’
उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे ।
उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए । डा महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने ओैद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे ।
उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे । ‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ’, उनले भने ।
उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए । उनले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताए ।
यसैगरी, विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ ।
केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब दुई प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले वृद्घि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ ।
आर्थिक वर्ष २०८०÷८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्