काठमाडौँ, ३० कात्तिक । अछाम र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
यसैगरी, सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।
को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।
फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।
खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्