भेरीगङ्गा (सुर्खेत), २८ कात्तिक । जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन् ।
सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार दुई सय ९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार तीन सय ४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् । तीन हजार तीन सय १७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्याङ्कमा जनाइएको छ ।
भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा खड्काले बताउनुभयो । ४८ स्वास्थ्य संस्थामा क्षति भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ । रुकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ ।
जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंकरूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताउनुभयो । जाजरकोटमा एक सय ३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ । यता, सल्यानका एक सय ५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंकरूपमा क्षति भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ । मृत्यु हुनेमा बालबालिका धेरै स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । अठार वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो । अध्यावधिक विवरणअनुसार पाँच वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन् ।
अठार वर्षमुनिका र पाँच वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्याङ्कमा जनाइएको छ । तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा खड्काले बताउनुभयो । मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफू सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताउनुभयो । पानीजन्य रोग लाग्न नदिन भूकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परीक्षण सुरु गरिएको भन्दै उहाले त्यहाँ स्वास्थ्यकर्मी खटाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्