इनरुवा, २७ कात्तिक ।सुनसरी र खोटाङमा आगलागी हुँदा रु ७५ लाख भन्दा बढीको क्षति भएको छ । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी,खोटाङ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत्् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेका छन् । धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।
धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।
प्रतिक्रिया दिनुहोस्