कञ्चनपुर, २० कात्तिक । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्दो रुपमा रहेको छ । यस वर्षको अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका छन् । कोरोनाको सङ्क्रमण पश्चात आवतजावतमा सहज वातावरण भएपछि विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको छ । भारतबाट स्थल मार्ग हुँदै पर्यटक भित्रिएका हुन् । सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपियन देशका रहेका छन् ।
अध्यागमन कार्यालय गड्डाचौकीका अध्यागमन अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । जनवरीमा ३१, फरवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ जना पर्यटक भित्रिएका छन् । सन् २०२० मा छ सय २०, सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए । सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाबाट मात्रै पर्यटक बाहिरिने अनुमती दिएपछि यो नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन ।
कोरोना महामारीको सङ्क्रमण पश्चात(सन् २०२१ को डिसेम्बर देखि) सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको अधिकृत भट्ट बताउनुहुन्छ । “सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एक दिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्”, भट्टले भन्नुभयो, “केही सिधैँ गन्तव्यमा जाने गरेका छन् ।” उहाँका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाडौँ, लुम्बिनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् । महिनामा एक÷दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् ।
“कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउन अघि नै योजना बनाइसकेका हुन्छन्”, उहाँले भन्नुभयो, “सोहीअनुसार उहाँहरु गन्तव्यमा जानका लागि रुटको प्रयोग गर्ने र होटलमा बस्ने गरेका छन् ।” भारत हुँदै यहाँ आइपुग्ने अधिकांस पर्यटकले भारतीय रुपैयाँ बोकेर आउने गरेकाले भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्ने झन्झट हुने गरेको छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई रहेको छ । यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको भट्ट बताउनुहुन्छ । उहाँका अनुसार विवाह भिसाको म्याद थप्ने विदेशीको सङख्या केही वर्षदेखि बढ्दो रुपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्