काठमाडौँ, १९ कात्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।
यसैगरी, मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।
उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्