काठमाडौँ, १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।
यसैगरी,नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने प्रबन्ध गर्न पनि अनुरोध गर्नुभएको छ । सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यस कठिन घडीमा उहाँले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिनुभएको छ ।
यस्तै,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गर्नुभयो । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ”, उहाँले भन्नुभएको छ, “भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।”
सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गर्नुभएको छ । उहाँले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्नुभएको हो । सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।”
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।” कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ । उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गर्नुभएको छ । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्