इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद जाने

काठमाडौं, २४ असोज । इजरायलमा रहेका नेपाली नागरिकहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो । बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन बुधबार ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।
’प्रधानमन्त्री  प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । मन्त्रिपरिषद्को बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरूङले जानकारी दिए ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली  विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।
इजरायलबाट १० जना नेपालीको शव ल्याउन बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।
यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
यसैगरी,  मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप  दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिएका छन ।
मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए ।
विज्ञप्तिमा भनिएको छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्