सुन्दरहरैँचा (मोरङ) ६ असोज । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।
जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रू आठ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौँ, विग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गर्नुभयो । प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ ।
बेलबारी गोल्डकपमा गत वर्ष शसस्त्र प्रहरी बल (एपिएफ) काठमाडौँ विजेता तथा राजाराजी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो ।अन्तर्राष्ट्रियस्तरको गोल्डकपमा १६ हजार दर्शकको सहभागीता हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्