परासी क्षेत्रका उद्योगलाई विद्युत दिन पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइन रिङ बन्दै

Parasi Sub Station

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि पाँच वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ।

औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने छ।

नेपाल विद्युत प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ।

गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालू अवस्थामा छन्।

सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरहरूमध्ये एउटा सञ्चालनमा आएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरे।

घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको बताए।

निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरूको निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिए। सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरहरूबाट त्यस क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टील उद्योगसहित स्थानीय रुपमा विद्युत आपूर्ति भइरहेको थियो। साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ।

परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टीललगायतका ठूला तथा साना उद्योगहरूले अहिले करिब ७५ मेगावाट विद्युत खपत गरिरहेका छन्। सञ्चालित उद्योगहरूको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरूका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा एक सय १५ मेगावाट विद्युत खपत हुने प्रक्षेपण गरिएको छ।

साथै, रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत खपत हुने अनुमान छ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ।

कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ।

हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत आपूर्ति हुनेछ। त्यस क्षेत्रमा विद्युत आपूर्ति र नेपाल–भारतबीच विद्युत व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत हब बन्ने छ।

त्यस्तै, हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ। भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमताले नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत प्रवाहका लागि समस्या छ। हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ।

प्रतिक्रिया दिनुहोस्