काठमाडौँ, २९ चैत । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।
जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरिन । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मङ्गलबार भएका खेलमा सटफुट थ्रोमा छात्रतर्फ हलेसी तुवाचुङका केलेमेण्ड श्रेष्ठ पहिलो, दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ दोस्रो र केपिलासगढीका इरन राई तेस्रो भएका छन् भने छात्रातर्फ हलेसी तुवाचुङकी अनिशा भुजेल पहिलो, केपिलासगढीकी जेनिशा राई दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् । ज्याभलिन थ्रोमा छात्रतर्फ दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ पहिलो, हलेसी तुवाचुङका मीनकुमार रानामगर दोस्रो र केपिलासगढीका रोचक राई तेस्रो तथा छात्रातर्फ हलेसी तुवाचुङकी मनिषा राउत पहिलो, ऐसेलुखर्ककी प्रमिला तामाङ दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।
यस्तै एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई पहिलो, हलेसीका गणेश बस्नेत दोस्रो र हलेसीकै अजय राई तेस्रो भएका छन् भने छात्रातर्फ केपिलासगढीकी रोजिना बस्नेत पहिलो, सोही ठाउँकी रेवती राई दोस्रो र हलेसीकी अनिशा कार्की तेस्रो भएका छन् । गत वर्ष सम्पन्न १२औँ राष्ट्रपति रनिङ शिल्डमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो, हलेसी तुवाचुङ नगरपालिका दोस्रो र ऐसेलुखर्क गाउँपालिका तेस्रो भएको थियो ।
जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईका अनुसार प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः रु १५ हजार, रु १२ हजार र रु नौ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, फरवार्ड मनिष डाँगीले लगातार दोस्रो खेलमा गोल गर्दा सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले न्यु रोड टिम (एनआरटी) लाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले २–१ को जित दर्ता गर्यो । संकटाका लागि जुनिअर एन्कुंगे र मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलस संगको गोल सान्तवना सिमित भयो । यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा छ । एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
२२ औं मिनेटमा संकटाले जुनियर ओंगुने एनकुंगेको गोलमा अग्रता लियो । कर्नरमा आएको बललाई गोलरक्षक पुजन होनाले समात्न नसक्दा जुनियरले सहजै गोल गरे । ३७ औं मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे । नेल्सन कोन्फोरको थ्रु पासलाई मनिषले पेनाल्टी क्षेत्रभित्र लग्दै सुन्दर फिनिस गरे । मनिषले यसअघि आफ्नो पूर्वक्लब मच्छिन्द्रविरुद्ध २–१ को हारमा पनि बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफको सुरुवातमै संकटाले अग्रता बढाउने अवसर गुमायो । लेबनानका फरवार्ड युसुफ अथ्रिसले वन भर्सेस वनको स्थितिमा पोस्टभन्दा बाहिर प्रहार गर्न पुगे । ६२ औं मिनेटमा एनआरटीले गोल फर्कायो । दोस्रो हाफमा मैदान आएका लाल्जुनामाको प्रहार पोस्टमा लागेर फर्केपछि निकोलस सर्ज संगले खाली पोस्टमा गोल गरे ।
७८ औं मिनेटमा अथ्रिसको प्रहार क्रसबारमा लाग्दा संकटा अग्रता बढाउनबाट बन्चित भयो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको भली प्रहारलाई गोलरक्षक पुजन होनाले बचाउन डाइभ दिँदा हातमा लाग्दै क्रसबारमा ठोक्किएर बाहिरियो ।