भाँडोमा पेट्रोल बिक्री वितरण गर्न नपाइने


काठमाडौं, ११ माघ । पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण नगर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काठमाडौँले सूचना सार्वजनिक गरेर यस्तो अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन ।
नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।
पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो । सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *