फिल्म एक शोज पनि हाउसफुल नभएपछि साम्राज्ञीको स्टारडममाथि प्रश्न

काठमाडौं, ११ माघ । पुषमा रिलिज भएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह कमब्याक फिल्म ‘तिम्रो मेरो साथ’ एक शोज पनि हाउसफुल नभएपछि साम्राज्ञीले बुझ्ने पारिश्रमिक र स्टारडममाथि प्रश्न उठेको छ । यो फिल्ममा उनले १८ लाख पारिश्रमिक लिएको चर्चा छ । फिल्म ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो काँधमा फिल्म बोकेर चलाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिन्छ । यसको मतलब उनको स्टारडम बलियो छ भनिनु हो । तर, दोस्रो फिल्म ‘ए मेरो हजुर २’पछि हलमा उनको स्टारडमको रंग देखिन सकेको छैन । तथापि, उनको माग कमजोर भएको पनि छैन । अहिलेकी उनी महंगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् । २०७६ सालमा प्रदर्शन भएको दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’को निराशाजनक नतिजाले अत्तालिएकी उनलाई फिल्म ‘तिम्रो मेरो साथ’ झन निरास बनाएको छ ।
साम्राज्ञी भने एउटा व्यक्तिका कारण फिल्म चल्ने वा नचल्ने भन्ने नहुने तर्क गर्छिन् । आफूले कहिल्यै आफू महंगी नायिका नभनेको पनि उनको स्पष्टिकरण छ । उनी भन्छिन्, ‘मैले कहिल्यै महंगी नायिका भनेको छैन । न त मैले यति लिन्छु भनेर भनेको छु न लेख्न लगाएको छु । र, फिल्म राम्रो भए दर्शकहरुले साथ दिनुहुन्छ । अनि, एउटाले गर्दा फिल्म बन्दैन, सिंगो टिमको मेहनतले बन्ने हो ।’
माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि प्यारी’लाई लिएर उत्साहित उनी फिल्म रोमान्टिक–कमेडी रहेको बताउँछिन् । डाइलग रोमान्टिक भए पनि परिस्थिति कमेडी भएकाले दर्शकलाई रोचक लाग्न सक्ने उनको विश्वास छ । ट्रेलरमा देखाएको कुरा जुत्ता लगाउनुअघि मोजा लगाएको जस्तो मात्र रहेको र फिल्मको मुख्य कुरा ट्रेलरमा लुकाइएको उनको भनाई छ ।
यसैगरी, बलिउडका सुपरस्टार शाहरुख खानको फ्यान फलोइंग नेपालमा लोभलाग्दो छ । उनका फिल्म ‘फस्ट डे फस्ट शो’ हेर्ने मात्र होइन, जन्मदिन समेत धुमधामले मनाउने फ्यानको संख्या नेपालमा ठूलो छ । त्यसमा अहिलेकी लोकप्रिय अभिनेत्री पूजा शर्मा पनि पर्छिन् । उनी शाहरुखको यति ठूलो फ्यान हुन कि २०७१ सालमा शाहरुख नेपालमा आउँदा भेट्न नपाएकोमा उनी रोएकी समेत थिइन् ।
उनै, पूजाले शाहरुखको ५ वर्षपछिको कमब्याक फिल्म ‘पठान’ बुधबार ‘फस्ट डे फस्ट शो’ हेरेकी छन् । शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुनधारको सिडिसी सिनेमाजमा आयोजना गरेको शोमा उनले ‘पठान’ रिलिजको खुसीयालीमा केक समेत काटिन् । शाहरुखका फ्यानहरुसँग रमाउँदै केक काटेको तस्विर र भिडियो क्लिप्स उनी आफैंले इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।
उनले इन्स्टाग्राम स्टोरीमा ‘पठान’लाई उत्कृष्ट एक्सन फिल्म भन्दै शाहरुखको फ्यान भएकोमा गर्व रहेको उल्लेख गरेकी छन् । उनी आफ्नो आइडल हिरोको ५ वर्षपछिको कमब्याक फिल्म हेर्न महिनौंदेखि औंला भाँचेर बसेकी थिइन् । तर, एक भारतीय नायकको फिल्म लाग्दा यसरी हर्षउल्लास मनाउन नाम चलेको अभिनेत्रीलाई शोभा नदिने भन्दै कतिपयले आलोचना समेत गरिरहेका छन् ।
भारतमा ४० करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएको ‘पठान’ले नेपालमा पहिलो दिन एक करोडमाथिको ओपनिङ गर्ने आँकलन गरिएको छ । ‘रिभ्यू’ पनि तगडा पाएकाले फिल्म लामो रेसको घोडा बन्ने देखिएको छ । शाहरुखका पछिल्ला २÷३ वटा फिल्म सफल हुन सकेका थिएनन् । ‘पठान’ले उनको जबर्जस्त कमब्याक गराएको छ । फिल्ममा सुपरस्टार सलमान खानको केमियो छ ।
बलिउड सुपरस्टार शाहरुख खानको नेपालमा जबर्जस्त क्रेज छ । उनका फिल्म प्रदर्शन हुँदा केही दिन हलमा महोत्सव नै लाग्छ । यही बुधबारबाट प्रदर्शनमा आउन लागेको उनको कमब्याक फिल्म ‘पठान’ले पनि नेपाली हलमा गजबको चहलपहल बनाउने संकेत गरेको छ । मल्टीप्लेक्समा पाएको शोज संख्या र बुकिङ हेर्दा यो फिल्मले नेपालमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर गरी फिल्मलाई ९० शोज बाँडेको छ । ‘केजीएफ २’, ‘कबड्डी ४’ र ‘आरआरआर’पछि यस वर्ष क्यूएफएक्स चेनमा सर्वाधिक शोज पाउने ‘पठान’ चौंथो फिल्म बनेको छ । चितवन, भक्तपुर, बुटवल, विर्तामोड, काठमाडौंको सिभिल मल, छाँया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा यो फिल्मको टिकट बुकिङ आक्रामक छ ।
त्यस्तै, फिल्मलाई बिग मुभिजले १५ शो, वान सिनेमाजको नयाँ बानेश्वर र कालिमाटीमा गरी २५ शो, एफक्यूबमा १४ शो, कीर्तिपुर सिनेप्लेक्सले ४ शो, रञ्जना सिनेप्लेक्सले ८ शो, क्यूज सिनेमाजले १२ शो, विएसआर मुभिजले ११ शो बाँडेका छन् । राजधानीका यी मल्टीप्लेक्सहरुमा पनि फिल्मको एड्भान्स टिकट बुकिङ सुखद् देखिएको छ । यसले पनि नेपालमा शाहरुखको क्रेज दर्शाउँछ ।
भारतमा पनि ‘पठान’को बुकिङ जबर्जस्त छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, भारतका तीन ठूला मल्टीप्लेक्स चेनमा मात्र ३ लाख बढी टिकट विक्री भैसकेको छ । फिल्मले पहिलो दिन ४० करोडको आसपास ओपनिङ गर्ने प्रक्षेपण ट्रेड एनालिस्टहरुको छ । ए–एट र ब्यांकटेस इन्टरटेनमेन्टले झन्डै नेपाली दुई करोडमा यो फिल्मको नेपाल प्रदर्शन अधिकार लिएको जानकारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *