नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिन आग्रह

काठमाडौं, ११ माघ । नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले बुधबार आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिन आग्रह गरेका हुन । अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन समेत दिएका छन ।
उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए ।
हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो, उनले भने, हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो । एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए ।
उनले भने, कहिलेकहिले सत्य कमजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ । अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, सङ्गठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राखे । उनले पार्टीका कसैले भ्रष्टाचार गरेको खण्डमा सजाय भोग्नुपर्ने र त्यसमा पार्टीले केही गर्न नसक्ने बताए । कहीँकहीँ पार्टीका केहीका अनुशासनका उल्लङ्घनका घटना रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती व्यक्तिगत घटना भएको र व्यक्तिगत घटनाका जिम्मेवारी अनुशासन उल्लङ्घनकर्ता हुने भनाइ राखे ।
कार्यक्रममा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ता एमालेको नीति, विचार र सिद्धान्तमा प्रतिबद्ध हुनुपर्ने बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेललगायतले प्रशिक्षण दिनेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *