संसद् सचिवालयद्वारा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता


काठमाडौं, ९ माघ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सोमबार सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो ।

यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।
यसैगरी,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा छलफल भएको उनले बताए । कांग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण राखेको प्रवक्ता महतले बताए ।

यसका लागि कांग्रेसले संसद्मा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने जनाएको छ । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । राष्ट्रिपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित भएकी हुन ।

यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *