निगमको रिपोर्ट प्रत्येक दिन मन्त्रालयमा बुझाउन निर्देशन

काठमाडौं, ९ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले प्रत्येक दिन नेपाल वायु सेवा निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका छन । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि सोमबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन ।
निरीक्षणको क्रममा मन्त्री किरातीले आम जनताले महसुस गर्ने गरी परिणाम यथाशिघ्र ल्याउन कडा रुपमा निर्देशन दिए ।

मन्त्री किरातीले एक महिना भित्र इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमान स्थलमा ब्यागेज चोरी रोक्न र त्यहांको ग्राउण्ड हेन्डेलिङ गुणस्तर बृद्धि गर्न, जहाजहरू न उड्ने रोग हटाउने र जहाज समयमै उडाउने कार्य गर्न निर्देशन दिएका छन् ।
यसैगरी, पर्यटनमन्त्री किरातीले कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु, उनले भने । ‘समस्या हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगाको टाउको जत्रो’ भएपछि निगम कसरी सुधार हुन्छ भनी प्रतिप्रश्न गर्दै मन्त्री किरातीले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिए ।
सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए । उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरेका छन ।
यस्तै,पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताइन । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिइन ।
पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिए । उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् ।

जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ, सचिव अधिकारीले भने । उनले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पारे ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनसाथ निगमलाई आवश्यक आन्तरिक उडानका जहाज खरिद प्रक्रिया अघि बढाइने बताए । निगमको आन्तरिक स्रोतले नै दुई÷तीनवटा विमान खरिद गर्न सकिने भन्दै उनले सरकारको निर्देशन प्राप्त हुनासाथ विमान खरिद प्रक्रिया अघि बढाइने बताए । छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा बुझाउने बताए । उनले राष्ट्रिय ध्वजावाहकले नाफाभन्दा पनि जनताको सेवालाई प्राथमिकता दिएर उडान सञ्चालन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *