काठमाडौँ, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।
सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिनुहुँदै उहाँले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।
तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
यसैगरी,उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताउनुभएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्नुभएको छ । “हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू नेपालको गौरव हुन् ।”,
उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा भन्नुभएको छ, “मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा पनि लिइने सोनाम ल्होछारले सम्पूर्ण नेपालीहरूका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।”
काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभूषासहितको पहिचान भएको बताउँदै उहाँले तामाङ सेलो गीत, टुङ्गुना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गर्नुभएको छ ।
यस्तै,नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गर्नुुभएको छ । उहाँले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उहाँले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिनुभएको छ ।
यसैबीच,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताउनुभएको छ । सोनाम ल्होछार (तवार ल्हो) को शुभकामना सन्देश दिँनुहुँदै उहाँले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गर्नुभयो ।
संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उहाँले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । सन्देशमा उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको बताउनुभयो ।
“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिलाई अघि बढाउन चाहन्छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु ।”