काठमाडौँ, ८ माघ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो । उक्त घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसैगरी,तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ ।
उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।