थारु समुदायले माघी पर्व उल्लासपूर्वक मनाउँदै


काठमाडौँ, ३० पुस । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने प्रस्तुत पुरानो गीत अहिले पनि जनजिब्रोमा छाउने गरेको छ ।

यो पर्वमा धमार र डुम्रु नाच पनि उतिकै लोकप्रिय भए पनि सखिया नाचको गीतले थारु वस्तीमा यतिबेला रौनक छाउन थालेको छ । पश्चिम नेपालको दाङदेखि कञ्चनपुरसम्म बसोबास रहेको थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ ।

सखिया नाचले थारु समुदायको सदियौँ देखिको भेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको थारु अगुवा मानबहादुर चौधरी बताए । पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ । कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका भलमन्सा रहेका चौधरीले भने, नयाँ वर्षको रुपमा माघी पर्वलाई उत्सवको रुपमा मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ । थारु समुदायमा गाउँको मुख्य व्यक्ति भलमन्साले दिने सल्लाह सुझावअनुसार माघी पर्व मनाइने गरिन्छ ।
गाउँको भलमन्साले दिने सल्लाहअनुसार माघी पर्व मनाउन तयारी गरिएको छ, उनले थपे, भलमन्साको सल्लाहभन्दा बाहिर गएर कसैले पनि आफूखुसी गर्न पाइदैन । माघिको अघिल्लो दिनमा नै मासुको व्यवस्थापन गरिसक्नुपर्छ । मासुको जोहोसँगसँगै आफ्नै घरको अनाज प्रयोग गरी जाड, ढिक्री जस्ता खानाका मिठा परिकार पकाउन थारु महिलाको व्यस्तता पनि बढ्ने गर्छ । पर्वको तयारी स्वरुप आज प्रत्येक घरमा बङ्गुरको मासुको जोहो गरिँदैछ ।

घरका महिला ढिक्री, अण्डी भात, पुरी, घोघी र घरकै अन्न प्रयोग गरी जाडलगायतका खानाका मिठा परिकार पकाउन व्यस्त देखिएका छन् । स्थानीय सञ्चारकर्मी प्रेम चौधरीले भने, पर्वको अघिल्लो दिन आज घर घरमा बङ्गुर मारेका छन् । पर्व मनाउन विवाहिता छोरी आफ्नो माइती घरमा आइसकेका छन् ।

माघी पर्वसँगै गाउँको मुख्य व्यक्तिको रुपमा रहने भलमन्सा (बडघर) लगायत पदमा छनोट हुने गर्छ । ठूलो र संयुक्त परिवारमा घरको सम्पूर्ण जिम्मेवारी वहन गर्नसक्ने घरमुली पनि यसै पर्वमा छनोट गरिन्छ । मलमन्सा प्रथाको ठूलो महत्व हुन्छ । सकेसम्म सर्वसहमतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि भलमन्सा छनौट गर्ने गरिन्छ ।
भलमन्साको मातहतमा रहने गरी हुलाकीको काम गर्ने चिरकिया (चौकीदार), वैद्यको काम गर्न गुरुवाको छनौट हुने गर्दछ ।

यी व्यक्तिले समग्र गाउँको संरक्षण, विकास निर्माणका काम, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था, गाउँघरमा आइपर्ने समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् । भलमन्सा पदको जिम्मेवारी वहन गर्ने व्यक्तिलाई पारिश्रमिकमाफत कतिपय बस्तीमा गाउँलेहरुको निर्णयअनुसार खाद्यान्न उपलब्ध गराउने परम्परा पनि छ । भलमन्साले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ ।

यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलनलाई उजागर गर्ने गरेको छ । त्यसले गाउँको एकता र सामूहिकताको विकास हुने र अर्को तिर गाउँको अनुशासन पनि कायम हुने बुझाइ छ ।

वर्षभरि गाउँ ठाउँमा भए गरेका गतिविधिको हिसाब किताब गर्ने, चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने काम गर्ने हुँदा यो समुदायमा माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरिएको बताइन्छ । गाउँ सञ्चालन गर्न नयाँ नीति नियम बनाउने, नेतृत्व छनौट गर्ने, वर्षभरिको कामको समीक्षा गर्ने र नयाँ योजनाअनुसार अगाडि बढ्ने काम गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *