भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि सरकार गम्भीर, सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्राथमिकता

काठमाडौं, २४ पुस । भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन । आइतबार सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने उनले बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने, सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको उनको भनाइ छ । सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले आफूहरुप्रति आशाको नजरले हेरिरहेको भन्दै उनले भने, अब केही नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिबद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौँ, उनले भने, सुशासन राज्यको आम जिम्मेवारी भएकाले सरकार गम्भीर छ । उनले भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न नसक्ने भन्दै सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि भएको बताए । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहने भन्दै उनले भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुखरूपमा रहने भन्दै आफू गम्भीर जिम्मेवारमा रहेको बताए । मन्त्रिपरिषदको पहिलो बैठकमै सुशासनको विषय गम्भीररूपमा गरिएको छ । यसमा यहाँहरूको सहयोग चाहिन्छ, प्रधानमन्त्री प्रचण्डले भने, आयोगका लागि आवश्यक ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधारका काममा सरकारको पूर्ण सहयोग हुनेमा प्रतिबद्धता व्यक्त गर्दछु ।
नेपालका कर्मचारी संसारका कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर नभएको उल्लेख गर्दै उनले सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो रहेको तर राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न नसकिएको धारणा व्यक्त गरे ।
छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सचिवलाई गरेको निर्देशनात्मक सम्बोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंगहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने उनले बताए । आयोगले संसद्मा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार निवारणका निम्ति आयोगका सबै सकारात्मक प्रस्तावहरू सम्वोधन गर्न आफू तत्पर रहेको उल्लेख गरे ।
यसैगरी, प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आइतबार भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *