पारिवारिक कथाको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौं, २४ पुस । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजाल निर्देशित पहिलो फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर आइतबार सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा हाँसो र रोदनको दुईटा पाटोलाई देखाइएको छ । पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग भेट पश्चात् आउने असोचनीय उतार–चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
जितु पैसाका लागि आमाको जग्गा समेत बेच्न कसिएका छन् । तर, आमाले बिहे नगरेसम्म जग्गा बेच्न नमिल्ने कागजपत्र बनाएपछि जितु एक विज्ञापन पढेर पैसा कमाउन काठमाडौं झर्छन् । उता साम्राज्ञी जितुको पैसाप्रति आशक्ति देखेपछि प्रलोभन देखाउँछिन् । उनीहरुबीच बिहे पनि हुन्छ । तर, बिहेकै दिनबाट घटनाक्रम बदलिन्छ । फिल्मप्रति कौहुलता जगाउन सक्ने ल्याकत ट्रेलरमा छ ।
बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता निर्देशक रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् । फिल्मको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । फिल्ममा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो ।
यसैगरी, ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ गरी चार फिल्मको निर्माण गरिसकेकी कृषा चौलागाईंले अब निर्देशनमा फड्को मार्ने भएकी छन् । बलियो स्टारकास्ट लिएर उनले फिल्म ‘अ‍ैंचो–पैंचो’को निर्देशन गर्न लागेकी हुन् । सोसल–पोलिटिकल ड्रामामा निर्माण हुने यो फिल्ममा ‘बुलबुल’पछि स्वस्तिमा खड्का र मुकुन भुषालले एकसाथ स्क्रिन साझेदारी गर्दैछन् ।
वर्षा राउत (कोइराला), विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला र शारदा गिरी (काली बुढी)को पनि अभिनय रहने फिल्ममा कोशिषको नकारात्मक भूमिका रहने गोप्य स्रोतको दाबी छ । आगामी माघ अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्मको आइतबारबाट टिमबीच कलाकारको क्यारेक्टरलाई लिएर छलफल हुँदैछ । एक हप्तापछि वर्कसप सुरु गर्ने तयारी गरिएको छ ।
गाउँमा हुने राजनीति र त्यसले युवामा पार्ने असरको कथामाथि बन्न लागेको फिल्मको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । काभ्रेको पनौतीको विभिन्न गाउँमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । केपी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रोजेक्ट हेडमा प्रणव सुवेदी छन् । चाँडै ‘अ‍ैंचो–पैंचो’को औपचारिक निर्माण घोषणा गर्ने तयारीमा कृषा छिन् ।
फिल्म निर्माणमा अपेक्षित सफलता हासिल गर्न नसकेकी कृषा अब आफूलाई निर्देशकको रुपमा स्थापित गर्ने सोचमा छिन् । डेब्यू फिल्म सफल बनाउन उनले स्टारकास्टमा समेत विशेष ध्यान दिएको देखिन्छ । ‘छक्का पञ्जा २’पछि स्वस्तिमा र वर्षाले एकसाथ काम गर्न लागेकाले ‘अ‍ैंचो–पैंचो’ हेर्न दर्शकलाई थप रोचक हुनसक्छ । उनीहरुको जोडी र भूमिकाबारे भने केही खुलाइएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *