नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार फाइनलमा


काठमाडौं, २४ पुस । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो ।
जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो ।
लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले दुई÷दुई तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले एक÷एक विकेट लिए । यसैगरी एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाए । बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई÷दुई तथा श्याड्ली भानले एक विकेट लिए । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी, सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ ।
यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित ग¥यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित ग¥यो । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।
यस्तै, ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।
यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो ।
उपाधि विजेता नेर्पाले नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाले नगद रु २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक (डिएफसी)का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स (डिएफसी)कै टेकेन रानामगर, उत्कृष्ट मिडफिल्डर (डिएफसी)का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भूषण ताम्राकार घोषित भएका छन् ।
यस्तै सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, खेलभरिकै उत्कृष्ट खेलाडी (डिएफसी)का मनिष लिम्बू, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सहआयोजनामा पुस १७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुङ्गा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो ।
माउण्ट एभरेष्ट स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको विसं २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउण्ट एभरेष्ट स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ ।
प्रथम संस्करणमा रु एक लाख ११ हजार एक सय ११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई संस्करण गोल्डकपको रूपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यस पटकबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको मूल आयोजक समितिका संयोजक सागर जोशीले बताए । अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शुभारम्भ तथा समापन कार्यक्रममा हालै निधन भएका ब्राजिली फुटबलर पेलेप्रति सम्मानस्वरुप भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *