हवाई साधनबाट मतपेटिका ढुवानी गर्दै नेपाली सेना

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधाको पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम तथा मतगणनास्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । निर्वाचन आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालयलाई उपयुक्त हवाई साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएपछि सामग्री ल्याउन थालिएको हो । आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्रीहरू जिल्ला सदरमुकाम सर्केगाड बजार तथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याउन हेलिकप्टर प्रयोग भएको छ ।
यस्तै बझाङको साइपाल गाउँपालिकाको तीनवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याउन, गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याउन हेलिकप्टर प्रयोग गरिएको छ । त्यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन र सङ्खुवासभाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकप्टर प्रयोग भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैगरी,सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो हेलिकप्टरमार्फत ल्याइएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए ।
तीन दिनसम्म पैदल हिँडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । थुदाम मतदान केन्द्रको २० मत, किमाथाङ्काको एक सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ६४ मतदान केन्द्रमध्ये एक सय पाँच केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा सङ्कलन भइसकेको छ । सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना सोमबारदेखि गरिनेछ । सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।
यस्तै, कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उनले जनाए । भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्, प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, हुम्ला, मुगु, र डोल्पा जिल्लामा भोलिसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । उनका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालिकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका सङ्लनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकोप्टर माग गरिएको जानकारी दिए ।
डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म हेलिकोप्टर पुग्न नसकेको बताए । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकोले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको उल्लेख गरे । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि मंगलबारदेखि मतगणना सुरु हुने उनले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *