पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग शुल्क नउठाइने

काठमाडौँ, ५ मंसिर । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन । रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन । यस्तो समूहलाई कानुनबमोजिम कारबाही गरिने छ ।
पशुपति क्षेत्रमा मंगलबार लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । मेलाको अघिल्लो दिन प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन परेकाले शनिबार नै धेरै तयारीका काम सम्पन्न भइसकेको छ । बाँकी तयारीका काम सोमबार बिहानैदेखि गर्न लागिएको हो । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।
पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ ।
यसैगरी लाखौँ भक्तजनका लागि ठाउँठाउँमा अस्थायी शौचालय स्थापना गरिएको छ । बिहान बेलुका जाडो बढेकाले पशुपति क्षेत्रका विभिन्न स्थानमा धुनी जगाउन दाउराको व्यवस्था गरिएको छ । भष्मेश्वर, बोडेपाटी, रामन्दिर, बाहिरी पश्चिम मूल ढोकालगायत स्थानमा धुनी जगाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
दिवङ्गत पितृका नाममा सोमबार बेलुकी महादीपदान गर्ने भक्तजनले मंगलबार बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो । यसका लागि सुरक्षाकर्मीको पर्याप्त मात्रामा व्यवस्था गरिएको छ । तीन तहमा सुरक्षाकर्मी राख्ने गरी व्यस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।
दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा पशुपति क्षेत्रमा महादीपदान गर्न लाखौँ भक्तजन आउने भएकाले ठाउँ लिन बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
सतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने मान्यता छ । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *