करिब ६१ प्रतिशत मतदान, ११ जिल्लामा गोली चल्यो, बाजुरामा गोली लागेर एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् । स्थगन वा रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने आयोगले जनाएको छ ।

आयोगले केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान सम्पन्न भएको र निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति आभार व्यक्त गरेको छ । केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकामा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सञ्चालन भएको थियो । उनले मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको जनाए । मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइने र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन गर्ने जनाइएको छ ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।
यसैगरी, चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताएका छन ।
ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।
चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।
दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले बताए । गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआईजी किरण बज्राचार्यले बताइन् । कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ । बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।
सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो ।त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।
यस्तै, डोटीको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा विवाद झडप हुने स्थिति आएपछि प्रहरीले त्यहाँ पनि ४ राउण्ड हवाई फायर गरेको बताएको छ । केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरू भएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिए ।
उता, कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु फेला परेको थियो । आइतबार बिहानै गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको थियो । सेनाले उक्त बम निष्क्रिय पारिदिएको थियो ।
यस्तै, बझाङको चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो शंकास्पद वस्तु फेला परेको थियो । बाल्टिन बमजस्तो वस्तु भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि सो ठाउँमा उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको थियो । डोटीको के आई सिंह गाउँपालिकास्थित राना गाउँ र जमलकट्टेबीचको सडकमा प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सुरक्षा निकायले निष्क्रिय पारेको सुरक्षा घुम्ती टोलीका प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए ।
उता,कैलालीको धनगढी उपमहानगरपालिका २ स्थित शारदा माध्यमिक विद्यालय मतदान केन्द्र नजिक बम विस्फोट भएको थियो । विस्फोटक पदार्थ पड्किएको आवाज आएको स्थानीयले बताएका छन ।
लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको टोली, सशस्त्र प्रहरी र नेपाली सेना स्थलमा पुगेर विस्फोट भएको वस्तु नियन्त्रणमा लिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।
कैलालीको लम्कीमा दुई स्थानमा, टीकापुर र भजनीमा पनि फेला परेका शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको थियो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक पनि ‘शंकास्पद वस्तु’ भेटिएपछि नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो । अछामको ढकारी गाउँपालिका–२ स्थित कालिका देवी मावि हिच्मा मतदान केन्द्रनजिकै प्रेसर कुकर बम फेला परेको त्यहाँको प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयले बताए । उनले तत्कालै नेपाली सेनाले उक्त बम डिस्पोज गरेको जानकारी दिए । निर्वाचन बिथोल्न कहीँकतै शंकास्पद वस्तु राखिएको पाई पनि एकाध ठाउँबाहेक सुदूरपश्चिम प्रदेशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।
दार्चुलामा विप्लव नेतृत्वको नेकपा पार्टीको युवा संगठनका केन्द्रीय सदस्य जीवन विष्ट र जिल्ला सदस्य सुरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
लेकम गाउँपालिका १ स्थितको बडीपुर माध्यमिक विद्यालय सर्मोली मतदान केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । चुनाव बिथोल्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यस्तै, कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू नेकपा बहुमतका कार्यकर्ता रहेको भनिएको छ । भीमदत्त नगरपालिका–४ स्थित भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाल, दीपेन्द्र ऐरी, सुरेन्द्र धानुक, विरेन्द्र नाथ, सुरज मल्ल, सुरेश नाथ , वीरेन्द्र शाह र नक्साल विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा बहुमतले कैलालीको गौरीगामा पनि निर्वाचन विरूद्धमा जुलुस निकालेको थियो भने केही स्थानमा नाराबाजी समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *