आम निर्वाचन शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न


काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचन शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण संस्थाले जनाएको छ । आइतबार भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए । बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो । उक्त संस्थाले मुलुकका ३६ जिल्लाको दुई सय ५० पालिकामा राष्ट्रियस्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका दुई सय ८४ पर्यवेक्षक खटाएको थियो । पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवसहितको १० विशेष पर्यवेक्षक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा संस्थाले निष्कर्ष निकालेको उल्लेख गरेको छ । यसै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ ।उक्त संस्थाले यस निर्वाचनमा एक हजार आठ सय पर्यवेक्षक खटाएको नियोगका कार्यकारी निर्देशक विकल श्रेष्ठले बताए । उक्त संस्थामा रहनुभएका एक पूर्वप्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको पर्यवेक्षण गरेको हो ।
यसैगरी,नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी सम्पन्न हुनेमा म विश्वस्त छु । उनले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी पनि गरेका छन । यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, यो निर्वाचन देशका लागि महत्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु । ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *