फिल्म ‘ह्यारी कि प्यारी’को तीनवटा आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं, ३ मंसिर । फिल्म ‘ह्यारी कि प्यारी’को तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा साम्राज्ञी र जितु नेपालको लभ केमेस्ट्री देखिन्छ । पोस्टरको माध्यमबाट फिल्म रोमान्टिक–कमेडी जनरामा निर्माण भएको जानकारी दिन खोजिएको छ ।
एक पोस्टरमा साम्राज्ञीसँग हाइट मिलाउन जितु बाकसमाथि उभिएका छन् र उनीहरुलाई रिवनले बाँधिएको छ । दोस्रो पोस्टरमा जितुले साइकल चलाएका छन् भने साम्राज्ञी माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा दुवै रोमान्टिक अवतारमा प्रस्तुत छन् । यी पोस्टरले फिल्मप्रति दर्शकको कौतुहलता र उत्सुकता जगाउन सक्छ । साम्राज्ञी र जितुले पहिलो पटक एकसाथ काम गरेका हुन् ।
निर्माण टिमले आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ भने नायिका रेखा थापा अतिथी भूमिकामा छिन् । फिल्ममा डा. कपिल रिजालको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद छ । फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । अहिले फिल्मको पोष्ट प्रोडक्सनको लागि निर्देशक रिजाल र डिओपी बराल मुम्बईमा छन् ।
यसैगरी, लागू औषधविरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’मा समावेश ‘निःस्वार्थ माया’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक भएको छ । शुक्रवार साँझ यूट्युब रिलिज गरिएको गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । यो गीतले फिल्मका युवा पात्रहरुको प्रेम र मित्रता बोल्छ । गीतको अडियो पक्ष बलियो छ ।
यही मंसिर १५ गतेबाट बागमती प्रदेशमा मात्र प्रदर्शनमा आउन लागेको फिल्मलाई हलमा प्रदर्शनपश्चात् लक्षित वर्गसम्म पु¥याउने अभियान थालिने निर्माता विनोद लामाले बताएका छन् । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायतको अभिनय छ ।एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीले निर्देशन गरेको फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ । आयुष बुढाथोकी र सरोज पौडेलले संयुक्त रुपमा लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् । किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको निर्देशक बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *