निर्वाचनमा खटिएका दुई कर्मचारीको निधन


काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिबार सुतिरहेको अवस्था र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मङ्सिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन । साथै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आयोगले आग्रह गरेको छ ।
यसैगरी,पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका मतदान अधिकृत श्याममणिप्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए । उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । मण्डल सहायक वन अधिकृत हुन । उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ । दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *