खेलाडीलाई नगद सहित सम्मान

काठमाडौँ, २९ कात्तिक । ललितपुर जिल्ला खेलकुद विकास समितिले यसै महिना गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका पदक विजेता आफ्ना जिल्लावासी खेलाडीलाई सोमबार नगद सहित सम्मान गरेको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ६५ खेलाडीले विभिन्न खेलमा पदक जितेका थिए । ललितपुर जिल्ला खेलकुद विकास समितिले नवौंमा स्वर्ण पदक विजेतालाई जनही ५ हजार, रजत जित्नेलाई ३ र कास्य पदक जित्ने खेलाडीलाई २ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । सम्मानित हुनेमा विभागबाट खेल्ने ललितपुरबासी खेलाडी पनि समावेश थिए ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले विदाइकै क्रममा पदक विजेता खेलाडीलाई सम्मान गर्ने बताएका थिए । अध्यक्ष महर्जनले जिल्लामा खेलाडी पलायको अवस्था रहेको सुनाए । उनले विभागमा भर्ती भएर खेलाडी आबद्ध हुनुलाई राम्रो भएपनि करारमा विभागबाट खेल्नु उपयुक्त नहुने विचार राखे ।
‘मेरो विचारमा कोहि भर्ती भएरै विभागबाट खेल्छ भने त्यो स्वागत योग्य कुरा हो,’ अध्यक्ष महर्जनले भने ,‘ तर सम्झौता गरेर खेल्नु मलाई उपयुक्त लागेन । त्यसरी करारमा बस्ने खेलाडीले उमेर र राम्रो प्रदर्शन गर्दा सम्म खेल्न पाउँछन् । त्यसपछि खेल्न पाउँदैनन् । हामी वरिपरि त्यस्तो उदाहरण छन् । व्यक्तिगत रुपमा म त्यसमा सन्तुष्ट छैन । त्यस्ता खेलाडीलाई आफ्नै जिल्लाबाट खेल्न सल्लाह दिन्छु । हामीले सक्ने सहयोगका लागि पहल गर्नेछौं । ’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदनबहादुर आमात्य, नेपाल कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं २ को प्रदेश खका उम्मेदवार रामकृष्ण ताम्राकार, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले महर्जन अध्यक्ष भएपछि जिल्ला खेलकुद चलायमान भएको चर्चा गरेका थिए । अमात्य, ताम्राकार, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, जिल्ला खेलकुदका अध्यक्ष महर्जनले खेलाडीहरुलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *