नेपालले यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने


काठमाडौं, २७ कात्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।
त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पु¥याउन मद्दत पुग्ने विचार व्यक्त गरे । उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए ।
यसैगरी, ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ ।
चन्द्रागिरि–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स्य फुटसल एरिनामा शनिबार साँझ भएको कडा प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि– १५ ले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । का तर्फबाट खेलाडी समिर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय पुरी, अभय खड्का, सुजित रावत, प्रज्ज्वल कार्की, रोहित थापा र सुशन घिमिरे मैदानमा उत्रनुभएको थियो । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं ९ का तर्फबाट अजय महर्जन, सञ्जीव महजर्न, निकेश श्रेष्ठ, गौरव श्रेष्ठ, राजकुमार श्रेष्ठ, रितेश श्रेष्ठ, रफि श्रेष्ठ, ईश्वर थापामगर र राजीव मान्धर मैदानमा उत्रिएका थिए ।पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा प्रयोजित सो प्रतियोगितामा नगरका १५ वडाका २२ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो ।
प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त टिमलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगप्रवक्ता कृष्णकुमार खड्गी र क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गर्नुभयो । सोही अवसरमा उनिहरूले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच–पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलकर्ता सविन महर्जन र उत्कृष्ट गोलकिपर प्रकट रिजालले प्राप्त गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनउने बताए । उनले भने, नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।
क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, अगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ । क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *