दल तथा उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न ध्यानाकर्षण


काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनःध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यहीँ कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो ।
चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारीसाधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आयोगले आज प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनःनिर्देशनसहित ध्यानाकर्षण गराइएको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ख) बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न, सोही दफाको खण्ड (च) बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला नगर्न र त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सृजना नगर्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ ।
यसैगरी, निर्वाचनमा खटिने मतदान एवं सहायक अधिकृतलाई तालिम
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान गरिएको छ । मतदान केन्द्रमा खटिने छ सय १० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । शनिबार निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालिम प्रदान गरिसकिएको छ भने आज निर्वाचन क्षेत्र नं २ को भानुभक्त बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको एक सय ४२ वटा मतदानस्थलमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने मताधिकारलाई सुरक्षित तबरबाट प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । ढकालका अनुसार मङ्सिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र कर्मचारी खट्नेछन् ।
यस्तै,निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *