फिल्म ‘फूलबारी’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने, पोस्टर सार्वजनिक

काठमाडौं, २१ कात्तिक । फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ अलग–अलग भावभंगीमा प्रस्तुत छन् ।
पोस्टरमा विपिनको गेटअपले ध्यान खिच्छ । उनी पाको उमेर (५०–५५ वर्ष) को पुरुषको रुपमा चित्रित छन् । शिरमा ढाकाटोपी र आँखामा ठूलो चस्मा लगाएका उनको दाह्री र जुँगा सेताम्मे छन् । उनको छेउमा अढेस लागेका दयाहाङ भने तन्नेरी देखिन्छन् । त्यस्तै, सार्वजनिक पोस्टरमा प्रियंका र गौमाया गम्भीर भावमा टोलाएका छन् भने अरुणा र शिल्पा खुसी मुद्रामा देखिएका छन् ।
आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।
फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले नेपाली समाजमा सबैले भोगिरहेकै पारिवारिक–सामाजिक कथालाई उठाएको निर्देशक गुरुङले जानकारी दिए ।
यसैगरी, पुष २९ गतेदेखि प्रदर्शन हुन लागेको रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक प्रतियोगिता घोषणा गरेको छ । अघिल्लो साता सार्वजनिक भएको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमाथि निर्माण टिमले टिकटक प्रतियोगिता आयोजना गरेको हो । यो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले नगद पुरस्कार प्राप्त गर्ने निर्देशक पौडेलले जानकारी दिए ।
यो प्रतियोगितामा भाग लिन चाहनेले आफ्नो टिकटक एकाउन्टमा भिडियो अपलोड गर्दा ह्यासट्यागमा गीतको बोल, फिल्मको नाम र निर्देशकको नाममा लेख्नुपर्नेछ । यसको नतिजा पुष २६ गते घोषणा हुने बताइएको छ । यो नियम फिल्मका अन्य दुई गीत सार्वजनिक भएपछि पनि लागू हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई २५ हजार नगद र तीनवटा प्रिमियरको पास प्रदान गरिनेछ ।
यूट्युबमा ११ लाखभन्दा बढी भ्यूज बटुलिसकेको ‘रुमालै बाटेर टाई बनाम’ गीतमा सुभाष भुसालको संगीत छ भने वि पाण्डेको शब्द रचना छ । गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ । आकर्षक सेट बनाएर खिचिएको गीतमा फिल्मका मुख्य कलाकारहरु पुष्प खड्का, साम्राज्ञी आरएल शाह र सन्दिप क्षेत्री प्रस्तुत छन् । गीतको अडियो र भिडियो दर्शकले रुचाएका छन् ।
फिल्ममा इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय छ । फिल्मलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्मित यस फिल्मको कार्यकारी निर्मातामा सविर श्रेष्ठ, निर्मातामा पासाङ लामा छन् भने सह–निर्माता निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *