कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरियो

काठमाडौँ, २१ कात्तिक । युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित भएको हो । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगितामा राजारानी धनकुटाले ४–० गोल अन्तरले युनाइटेड ब्रदर्स कालिङपोङ भारतलाई हराउँदै अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो ।
राजारानी धकुटाको जीतका लागि खेलको ३५औँ मिनेटमा छिरिङ गुरुङले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको युनाइटेड ब्रदर्स कालिङपोङले दोस्रो हाफमा सम्हालिन नसक्दा थप ३ गोल खान पुग्यो ।
दोस्रो हाफमा राजारानी धनकुटाका लागि खेलको ७४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दबाबमा रहेको युनाइटेड ब्रदर्स खेलमा फर्कन सकेन । थप गरिएको ६ मिनेटमा मनिष थापा र बुद्ध चेम्जोङले गोल गरेपछि राजारानीले खेल ४–० गोल अन्तर आफ्नो कब्जामा लियो । थापाले यमन लिम्बूले प्रहार गरेको बल भारतका गोलरक्षक रसिभ तामाङले पन्च गरेको बललाई सुन्दर गोलमा परिणत गरेका थिए भने बुद्धले ३५ याड टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलमा निकै राम्रा अवसर पाए पनि स्कोर निकाल्न नसक्दा युनाइटेड ब्रदर्स कालिङपोङले नतिजा रारा धनकुटालाई सुम्पनु परेको थियो । खेलको ‘म्यान अफ दी म्याच’ एपिएफका राजारानी धनकुटाका बुद्ध चेम्जोङ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । सोमबार आयोजक डाँगीहाट फुटबल क्लब र एपिएफ क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।
¬¬यसैगरी, सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङको गोल गर्नबाट चुकेका थिए ।
एपिएफका लागि नवीन लामाले खेलको २३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि खेलको ४०औँ मिनेटमा पोखराका लागि दीपेश आलेमगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अवधिभर दुई टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
एपिएफका गोलरक्षक राजु नगरकोटी प्लेयर अफ दि म्याच चुनिए । उनले नगद रू पाँच हजार पुरस्कार र ट्रफि हात पारे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले रू आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।
यस्तै, विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनाएको हो ।गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान बिपिन खत्री १९ तथा अर्जुन कुमालले १४ रन बनाए । यता आर्मीको जितमा सुसन भारीले सर्वाधिक ५ विकेट लिए भने कुशल मल्ल र साहब आलमले समान २÷२ विकेट लिए । विक्रम सोबले एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रनमा बनाए । विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए । गण्डकीका लागि बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिए भने कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमृत गुरुङले समान एक–एक विकेट लिए । उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकी ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *