सिट बाँडफाँडको लागि गठबन्धनमा छलफल जारी


काठमाडौं, १२ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुङ्ग्याउने छलफल अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन । कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले सिट बाँडफाँड सकिएलगत्तै कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाइने बताए ।
प्रवक्ता डा महतले नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेका छन । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गरेको हो ।
उनले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवारहरुको नामावली टुङ्गो लगाएको बताए ।
उनले भने, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुङ्गो लगाउँदा पार्टीका पदाधिकारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको बताउँदै उनले समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमाभित्र गरिने उल्लेख गरे । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुन निर्देशन गरेको उनले जानकारी दिए ।
कांग्रेसले आगामी मङ्सिर ४ गते हुुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ । समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्युआर कोड, म्यासेन्जर, इमेल, ट्विटर, इमोजस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणापत्रमा सुझाव लिइरहेको उनले बताए । घोषणापत्र बनाउने काम सुरु भइसकेको छ । फरक प्रसङ्गमा उनले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यावहारिक भएको गुनासो सर्वत्र व्याप्त रहेको उल्लेख गर्दै भने, गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनका दैनिक भ्रमण हुने गर्दछन् ।
प्रधानमन्त्री कांग्रेसको सभापति पनि भएको बताउँदै प्रवक्ता डा महतले भने, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा भएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौँ ।
संसद्को दुवै सदनबाट दुई–दुईपटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लिखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको कांग्रेसको आरोप छ । राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको उनले बताए । अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको उनको ठम्याइ छ । उनले आ–आफनो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन नेता कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा प्रवक्ता डा महतले बडादसैँ २०७९ को उपलक्ष्यमा सबैमा कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *