अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित


काठमाडौं, १२ असोज । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन । त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए । खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे ।
खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
यसैगरी, युवा विंगरद्धय ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गरेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान आशिष र ऋतिकले दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका हुन् ।
ऋतिक ८४औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमलको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । दुई खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् । पहिलो पटक टोलीमा परेका ऋतिकले ए डिभिजन लिगमा थ्री स्टार क्लबका लागि खेल्दै आएका छन् । यता आशिषले भने बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
ऋतिक राइट विंगमा खेल्ने गर्दछन् । ब्रिगेड ब्वाइज क्लबका लागि ललित स्मृति यू–१८ लिगमा खेल्दै चम्किएका उनले त्यसपछि ब्रिगेड ब्वाइजका लागि पनि एक सिजन खेले । त्यसपछि प्रशिक्षक उर्जन श्रेष्ठले थ्री स्टार आएपछि ऋतिकलाई पाटने क्लबमा ल्याएका थिए । उनले गत सिजन लिगको १३ खेल नै सुरुवात गर्दै ३ गोल गरेका थिए ।
यता आशिषले चर्च ब्वाइजका लागि बी डिभिजन लिगको १२ खेलमा ४ गोल गरेका थिए । बायाँ खुट्टा चलाउने उनी तीव्र गतिका लागि चिनिन्छन् । उनी बी डिभिजनको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । आशिषकै उच्च प्रदर्शनमा चर्च ब्वाइजले ए डिभिजन लिगको यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *