राष्ट्रियहितकोलागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन

काठमाडौँ, २७ भदौ । राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई निर्देशन दिएका छन । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका हुन । उनले भने, हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गरिनेछ ।भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराए । सबैको सामूहिक प्रयासबाट सेनाको सुदृढीकरण तथा सबलीकरण हुने भएकाले समयानुकूल व्यवसायीकरण हुँदै जाने बताउँदै उनले नेपाली सेना सबै नेपालीको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गरे । मुलुकमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको सो अवसरमा उल्लेख गरियो । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो ।
सेनाको मूल्यमान्यताको सम्वद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व पूरा गर्न पनि सेनापतिले निर्देशन दिएको प्रवक्ता नारायण सिल्वालले बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, विकट र संवेदनशील क्षेत्रमा मतपत्र ढुवानीसहित मतदानस्थलको बाहिरी सुरक्षामा सेनाको व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न पनि उनले निर्देशन दिए ।
सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना अघि बढिरहेको छ । सो अवसरमा प्रधानसेनापति शर्माले सेनाको कफी टेबल बुक र ‘लिडर रिडिङ कलेक्सन’को विमोचनका साथै उत्कृष्ट लेखकका स्रष्टालाई पुरस्कार प्रदान गरेका छन ।

 

Leave a Reply

Your email address will not be published.