फिल्म ‘झिँगेदाउ’ को बक्सअफिसमा सानदार कमाई

काठमाडौं, २७ भदौ । भदौ १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ले बक्सअफिसमा सानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो दिन खासै राम्रो व्यापार गर्न सकेन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि फिल्मले दोस्रो दिनबाट व्यापारमा छलाङ मार्न सुरु ग¥यो । प्रदर्शनको पहिलो हप्ता फिल्मको व्यापार उत्साहजनक रह्यो । यो अवधिमा फिल्मले बक्सअफिसमा डेढ करोडको व्यापार ग¥यो । दोस्रो हप्ताको शुक्रवार र शनिवार फिल्मले व्यापारमा थप उछाल ल्याएको छ । यो दुई दिन देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर हाउसफुल भएसँगै फिल्मको ९ दिने कमाई २ करोड पार भएको छ । यो व्यापारिक अंक ‘कबड्डी ४’पछिकै सर्वाधिक हो ।
हल सञ्चालक प्रदीप कुमार उदयले ‘झिँगेदाउ’को पहिलो हप्ताभन्दा दोस्रो हप्ताको व्यापारमा अत्याधिक वृद्धि भएको फेसबुकमा उल्लेख गरेका छन् । यो हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘ब्रम्हास्त्र’ले समेत फिल्मलाई खासै असर गरेको छैन । व्यापारमा अत्याधिक वृद्धि भएपछि मल्टीप्लेक्सहरुले फिल्मलाई दोस्रो हप्तामा पनि उच्च शो उपलब्ध गराएका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘झिँगेदाउ’लाई दोस्रो हप्ताको शुक्रवार ‘ब्रम्हास्त्र’का कारण १६ शो दिएको थियो । तर, शुक्रवारको व्यापार उच्च भएपछि शनिवार केही शो थप ग¥यो । आइतवार यो फिल्मलाई ३० शो प्रदान गरिएको छ । यसबाट पनि फिल्मको व्यापार राम्रो रहेको बुझ्न सकिन्छ । कुनै पनि मल्टीप्लेक्सले व्यापार सुखद् नभएसम्म शो बढाउने गर्दैनन् ।
‘वर्ड अफ माउथ’को बलियो साहारा मिलेको ‘झिँगेदाउ’लाई अब फिल्म ‘प्रेमगीत ३’ अगाडिसम्म रोकछेक गर्ने नेपाली फिल्म छैन । यो अवधिसम्म फिल्मको कलेक्सन ५ करोड आसपास पुग्ने अनुमान गरिएको छ । दशैंमा भने नेपाली र विदेशी फिल्मको सर्वाधिक चाप भएकाले त्यसबेला फिल्मले हल पाउने सम्भावना न्यून छ । ‘झिँगेदाउ’को व्यापारले फिल्म क्षेत्रलाई नै ठूलो राहत दिएको छ ।
फिल्म हेर्ने युवापुस्ताभन्दा ३५ वर्षमाथिका दर्शकहरु बढी देखिएका छन् । पारिवारिक कथामा निर्माण भएकाले परिवारसहितका दर्शकलाई फिल्मले आकर्षित गरेको छ । यस वर्षको हिट फिल्म बन्ने दौडमा रहेको ‘झिँगेदाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । यस फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायतको अभिनय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.