अभिनेत्री स्वस्तिमालाई ‘पपुलर सिने स्टार अवार्ड’ प्रदान

काठमाडौं, २७ भदौ । अभिनेत्री स्वस्तिमा खड्कालाई ‘पपुलर सिने स्टार अवार्ड’ र अघिल्लो पुस्ताकी अभिनेत्री गौरी मल्ललाई ‘क्विन अफ एक्टिङ अवार्ड’ प्रदान गरिएको छ । शनिवार हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड’मा उनीहरुलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । त्यस्तै, सरोज खनाललाई ‘एक्टिङ स्टार’को अवार्ड प्रदान गरियो ।
‘पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन’ भन्ने स्लोगनसहित आयोजना भएको अवार्ड कार्यक्रममा आइकोनिक पपुलर मोडलको अवार्ड मोडल तथा अभिनेता दिक्पाल कार्कीले प्राप्त गर्दा एभरग्रिन मेलोडी भोकल स्टारको अवार्ड आनन्द कार्की र क्विन अफ एभरग्रिन भ्वाइसको अवार्ड अन्जु पन्तलाई प्रदान गरियो । त्यस्तै, सुक्निता चौलागाईले पपुलर ड्रेस डिजाइनरको अवार्ड पाइन् ।
कार्यक्रमको सुरुवातमा गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक तथा मोडल हिमानी सुब्बाको कोरियोग्राफीमा प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसँगै ¥याम्प वकमा सुन्दरीहरुलाई हिँडाएकी थिइन् । हिमानीले फिल्म, सांगीतिक क्षेत्रसँगै फेसन एवं मोडलिङ क्षेत्रको व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरेको जानकारी दिइन् ।
यसैगरी, प्रदर्शकहरुले नेपाली फिल्मलाई ‘अफ टाइमिङ’मा शो दिने गरेकोप्रति अभिनेत्री स्वस्तिमा खड्काले चित्त दुखाएकी छन् । नेपाली फिल्मका लागि शो भिख मागे जसरी माग्नुपर्ने र शोको टाइमिङ पनि कुबेला दिने हलवालाको व्यवहारले चित्त दुख्ने गरेको उनको भनाई छ । विदेशी फिल्मलाई ‘अफ टाइमिङ’ दिएर नेपाली फिल्मलाई राम्रो टाइमिङको शो उपलब्ध गराउन उनको आग्रह छ ।

शनिवार एक कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भनिन्, ‘हलवालाबाट नेपाली फिल्मले खालको जुन सहयोग पाउनु पर्ने हो त्यो नपाएको अवस्था छ । हरेक हप्ता शोको विषयमा समस्या आइरहेको छ । हामीले शो पनि भिख मागेको जसरी माग्नुपर्ने अवस्था छ । शो धेरै देऊ भन्नु राम्रो होइन तर नेपाली फिल्मलाई दिइने टाइमिङले एकदमै चित्त दुख्ने गर्छ ।’
आफ्नो फिल्म ‘चिसो मान्छे’लाई पनि हलवालाले ‘अफ टाइमिङ’मा शो दिएकोप्रति चित्त दुखाउँदै उनले विदेशी फिल्म दर्शकहरुले खोजी–खोजी हेर्ने भएकाले उनीहरुलाई ‘अफ टाइमिङ’मा दिएर नेपाली फिल्मलाई राम्रो टाइमिङको शो दिए दर्शकको राम्रो साथ पाउन सकिने धारणा राखिन् । ‘अफ टाइमिङ’मा दिइने शोका कारण धेरै दर्शकले नेपाली फिल्म हेर्न नसकेको उनको भनाई छ ।
स्वस्तिमाले ‘चिसो मान्छे’पछि नयाँ फिल्म साइन गरेकी छैनन् । उनले यतिबेला आफू एउटा फिल्मको तयारी गरिरहेको बताएकी छन् । उनले भनिन्, ‘एउटा फिल्मको तयारी भइरहेको छ । अहिले हामी एकदमै इनिसियल फेजमा छौं । यो फिल्ममा म आफैं निर्माता भएर जोडिएको छु । सायद त्यो भयो भने दर्शकले केही नयाँ हेर्न पाउनु हुनेछ । चाँडै यसबारेमा जानकारी गराउने छौं ।’

Leave a Reply

Your email address will not be published.