फिल्म ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक

काठमाडौं, १७ भदौ । हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीवार हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट ५८ सेकेन्डको ट्रेलर ‘पावर प्याक्ड’ छ । फिल्मको कथा राजगद्दी र प्रेम–गीत पात्रको वरिपरी घुमेको ट्रेलरले प्रस्ट्याउँछ ।
दर्घाको राजा (शिव श्रेष्ठ) राजगद्दी दुई छोरामध्ये कसलाई सुम्पिने भन्ने दोधारमा देखिएका छन् । उनी कान्छा छोरा (मनिष राउत) भन्दा जेठा छोरा (प्रेम उर्फ प्रदीप खड्का) लाई राजगद्दी सुम्पन चाहन्छन् । तर, नाम जस्तै प्रेम गीत (क्रिस्टिना गुरुङ) को प्रेममा डुबेको छ । जसले गर्दा उसलाई राजगद्दीको लोभ नै छैन । ‘प्रेमगीत ३’को ट्रेलर हेर्दा साउथ फिल्म ‘बाहुबली’को झल्को आउँछ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
ढुंगेयुगको कथामा निर्माण भएको ‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने पहिलो फिल्मको इतिहास बनाउँदैछ । लकडाउनमा निर्माता सेनले भारतीय टीभीमा रिलिज गर्ने गरी मुम्बईमा फिल्मको डबिङ गरेका थिए । तर, भारतका वितरकले फिल्म मन पराएपछि हलमै प्रदर्शन गर्ने वातावरण बनाए । अहिले सन्तोषसहितको टिम भारतमा फिल्मको प्रचार गरिरहेको छ ।
फिल्मको यसअघि नेपाली र हिन्दी भर्सनमा निर्माण टिमले दुईवटा ‘पावरफुल’ टिजर सार्वजनिक गरेको थियो । जसमध्ये दर्शकको ठूलो जमातले हिन्दी भर्सनको टिजर मन पराएको छ । चर्चित साउथका कलाकारहरुले अभिनय गरेको फिल्मको हिन्दी डबमा आवाज दिएका कलाकारहरुले नै ‘प्रेमगीत ३’को डबिङ गरेका हुन् । यसकारण पनि दर्शकमाझ फिल्मको हिन्दी डब प्रतिक्षीत छ ।

Leave a Reply

Your email address will not be published.