प्रधानमन्त्री देउवा डडेल्धुराबाट, महामन्त्री शर्मा झापा १ बाट र उपसभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस


काठमाडौँ, १७ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सिफारिस भएका छन । नेपाली कांग्रेस झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन ।
कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट प्रधानमन्त्री देउवा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।
यसैगरी, नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन । कांग्रेसको क्षेत्रीय कार्यसमितिको बिहीबार अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पैडेलले जानकारी दिए । यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पैडेलले बताए । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिइन । तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उनि झण्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन । राना नेकपा (एमाले)को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताए । निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताए । यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ ।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित भएका थिए । यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ । यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित भएका थिए । भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका छन ।
यस्तै, नेपाली कांग्रेस झापा क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ । क्षेत्र नं १ मा शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गरेका थिए । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको हो । क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रत्यक्षमा तारावीर कट्वाल, गोपाल तामाङ र बालजित राईलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ भरत सुब्बा र खड्ग धिमाल, महिलातर्फ राधा कार्की र बीना तामाङलाई सिफारिस गरिएको छ ।
क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ लोकराज ढकाल, प्रेम सम्बाहाम्फे र देवेन्द्र गौतमलाई सिफारिस गरेको क्षेत्रीय समिति बैठकले समानुपातिकतर्फ चक्र शेर्मा र झुमा बानियाँलाई सिफारिस गरेको छ ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन । क्षेत्रीय कार्य समिति क्षेत्र नं १ को बिहीबार छिञ्चुमा बसेको बैठकले प्रत्यक्षतर्फ खड्काको नाम एकल सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सुर्खेत–१ बाट समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ प्रदेशसभा (क) बाट प्रत्यक्षमा जिल्ला सभापति खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंह तथा समानुपातिकतर्फ अनन्तप्रसाद पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पङ्गाली र सुशीला कार्कीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य अमृता शाही, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढामगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम सिफारिस गरिएको छ । समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामती विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.