डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे


काठमाडौँ, १७ भदौ । वीरगञ्ज र धादिङमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेका छन । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए ।
यसैगरी, धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ । डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेङ्गु सङ्क्रमणपछि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.