आजबाट फिल्म ‘झिँगेदाउ’ प्रदर्शनमा आउने


काठमाडौं, १७ भदौ । शुक्रवार (आज) बाट फिल्म ‘झिँगेदाउ’ प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ले बुधवार साँझ राजधानीको बिग मुभिजमा भएको प्रिमियरमा लोभलाग्दो प्रशंसा कमाएको छ । करीब ४ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तु, हरेक कलाकारको अभिनय र निर्देशकिय पाटोको वाहवाही गरे ।
धेरैपछि फिल्मको प्रिमियरमा पुगेका कलाकार दीपकराज गिरीले ‘झिँगेदाउ’ जस्तो फिल्मलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राखे । उनले यसप्रकारका राम्रा फिल्म कमै बन्ने गरेको र यो फिल्म हेर्न छुटाउन नहुने पनि बताए । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले धेरैपछि अर्गानिक र मौलिक कथामा पूर्ण कमर्शियल फिल्म बनेको बताउँदै सबैको काम राम्रो रहेको बताइन् ।
अभिनेत्री स्वस्तिमा खड्काले ‘झिँगेदाउ’ फरक शैलीमा बनेको कमर्शियल फिल्म भन्दै प्रशंसा गरिन् । ‘गाउँघरको कथा हुँदा हुँदै पनि कलरफुल र रमाइलो तरिकाले बनाइएको छ,’ उनले भनिन्, ‘कलाकारहरुको अभिनय राम्रो छ । केकी दिदी त आफैंमा राम्रो कलाकार भइहाल्नुभयो । आँचलको अभिनयबाट त म सरप्राइज नै भएँ । अर्गानिक कथालाई कमर्शियल शैलीमा बनाइएको छ ।’
अर्की अभिनेत्री रीमा विश्वकर्माले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘ज्ञानेन्द्रजी जत्तिको अनुभवी निर्देशकबाट यतिसम्मको फिल्म आउँछ भन्नेमा म विश्वस्त थिएँ । मलाई एकपटक हेरेर मन भरिएको छैन । अब परिवारसहित हेर्छु ।’ मोडल गरिमा शर्माले फिल्ममा हाँसो, रोदन, खुसी सबै तत्व रहेको बताइन् । कलाकारको अभिनय पनि राम्रो रहेको उनको भनाई थियो ।
पुराना निर्देशक उज्जवल घिमिरेले भीमनीधी तिवारीको कृतिलाई ‘झिँगेदाउ’ले पूरा न्याय गरेको बताए । उनले भने, ‘फिल्म बबाल छ । ग्रामिण परिवेशमा एउटा राम्रो कमर्शियल फिल्म बनेको छ ।’ त्यस्तै, श्रीमती आँचल शर्माको फिल्म हेर्न पुगेका उदिप श्रेष्ठले ‘झिँगेदाउ’ राम्रो बनेकोमा खुसी व्यक्त गरे । फिल्मको कथा निकै बलियो रहेको र सबै कलाकारले जीवन्त अभिनय गरेको बताए ।
प्रिमियरमा फिल्मकर्मीबाट मिलेको प्रतिक्रियाले उत्साहित भएकी अभिनेत्री केकी अधिकारीले फिल्म इन्टरटेनिङको प्याकेज रहेको बताइन् । ‘पछिल्लो समय अर्गानिक भनिएको तर इन्टरटेनिङ तत्व नभएको वा इन्टरटेनिङ तत्व भएको तर अर्गानिक कथा नभएको भन्ने कुरालाई ‘झिँगेदाउ’ले पूरा गरेको छ । जुन खालको फिल्म हेरेर हामी बढ्यौं, त्यस्तै फिल्म बनेको छ,’ उनले भनिन् ।
अभिनेत्री आँचल शर्माले पनि दर्शक भएर फिल्म हेर्दा रमाइलो लागेको प्रतिक्रिया दिइन् । उनी भन्छिन्, ‘म आफैंले दर्शक भएर हेर्दा पात्र र पात्रको अभिनयले बाँधेर राख्यो । घरभित्र र बाहिरको फ्रेम उतिक्कै सुन्दर छन् । समग्रमा सिंगो फिल्म नै राम्रो र बलियो बनेको छ ।’ फिल्मका मुख्य कलाकार मुकुन भुषालले मनोरञ्जन लिन चाहने सबैलाई ‘झिँगेदाउ’ हेर्न छुटाउन नहुने बताए ।
कुनै बेला पारिवारभित्रको कथामा अत्याधिक मात्रामा फिल्म बन्ने गर्थे । दर्शकहरुले पनि त्यसप्रकारको फिल्म रुचाउने गरेका थिए । पछिल्लो समय परिवारभित्रको कथामा कम फिल्म बन्ने गरेका छन् । यसको परिपूर्ति ‘झिँगेदाउ’ले गरेको छ । निर्देशक देउजाले ४०÷४५ वर्ष अगाडिको सेटिङमा फिल्म बनाएका छन् । पारिवारिक फिल्म रुचाउने समुहलाई फिल्मले हलमा बाँधेर राख्न सक्छ । फिल्ममा कलाकार हिँउवाला गौतमको अभिनय सबैभन्दा ‘पावरफुल’ छ । आमाको भूमिकामा उनले जीवन्त अभिनय गरेकी छन् । फिल्मको हिरो नै उनी हुन् । केकी अधिकारी र आँचल शर्माको अभिनयमा खोट दिने ठाउँ छैन । आँचलको अभिनय त सरप्राइज नै छ । निर्देशक देउजाको काम इमानदार छ । मध्यान्तरअघि केही दृश्यमा कैची चलाउन सके फिल्म अझ कसिलो बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published.