आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन आग्रह


काठमाडौँ, १७ भदौ । आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग सांसद राजेन्द्रलक्ष्मी गैरेले आग्रह गरेकी छन । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकको विभिन्न समस्याकाबारेमा छलफल भएका छन । बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन । बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे । बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए । सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित छन् भने । सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे । सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे । सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे । सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरे । बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गरे ।

यसैगरी, राष्ट्रियसभाको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो । यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
यसैगरी, राष्ठ्रियसभाको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गरे । त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.