फिल्म ‘झिँगेदाउ’को ३ मिनेटको ट्रेलर सार्वजनिक

काठमाडौं, २३ साउन । फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । फिल्ममा उनीहरु जेठानी–देवरानीको भूमिकामा छन् ।
विवाह भएपछि दुई मिल्ने दाजु–भाईबीच श्रीमतीका कारण झगडा, आमासँग मनमुटाव, जेठानी र देवरानीबीच साना–साना कुरामा लडाइँ, परिवार भाँड्न समाजका केही व्यक्तिले खेल्ने खेललाई ट्रेलरमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । पारिवारिक कथा हेर्न रुचाउने दर्शकहरुका लागि फिल्म उपयुक्त हुन सक्ने ट्रेलरले संकेत गर्छ । यो फिल्म आगामी भदौ १७ गते प्रदर्शनमा आउँदैछ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’मा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
बिष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताएका छन् । फिल्ममा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ ।

Leave a Reply

Your email address will not be published.