युवालाई सूचना प्रविधिमा आकर्षित गराउन आग्रह


काठमाडौँ, ११ साउन । युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आग्रह गरेका छन । उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई मंगलबार सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याएका हुन ।
उनले सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने बताए । उनले परिवारको गरिबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताए ।

मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको बताए । उनले आजकाल हरेका जिल्ला तथा सहरमा एउटा ल्यापटप बोकेर युवाले रु डेढ दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ । उनले उच्च शिक्षालयबाट प्राप्त हुने प्रमाणपत्र केवल कालान्तरको ‘खोष्टो’ मात्रै हुने नबनाइ व्यक्ति, परिवार र समाजका निम्ति उपयोगी हुनसक्ने शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले नेपालको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी भएकाले उक्त जनशक्तिलाई रोजगारीमा परिणत नगरेसम्म विकास हुन नसक्ने जिकिर गरे । प्रमुख चुनौती बनेको बेरोजगारी अन्त्य गर्न ग्लोबल भिलेजमा परिणत संसारमा शिक्षालाई अघि बढ्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो उनले भने ।
मन्त्री कार्कीले विकासको आधार शिक्षा नै भएकाले सभ्यता सिकाउने शिक्षाले समाजभित्रको अन्धकारलाई दूर गराउने बताए । उनले जलस्रोत, पर्यटन र कृषिका समस्याको निराकरण गरी अवसरमा रुपान्तरण गर्नसके अबको दश वर्षमा नेपाल दक्षिण एशियामा धनी देश बन्नसक्ने धारणा व्यक्त गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शैक्षिक गुणस्तर कायम गर्ने तथा गाउँपालिकालाई धार्मिक पर्यटनसँगै कृषि तथा पशुपालनका माध्यमबाट समृद्ध बनाउने योजना अघि सारिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *