मङ्कीपक्स र हैजाको जोखिम हुन नदिन सरकारको ध्यानाकर्षण, जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सुझाव

काठमाडौँ, ११ साउन । मङ्कीपक्स र हैजाको जोखिम हुन नदिन प्रतिनिधिसभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन । बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उनले मङ्कीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।

‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, सांसद भट्टराईले भने ।
उनले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उनले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गरे । सांसद भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरे ।

सांसद खगराज अधिकारीले अमेरिकी स्टेट पार्टनर्ससिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर पत्र पठाइएको विषयबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद अञ्जना विशङ्खे, अम्रिता थापा मगरलगायतले अष्ट्रेलियामा भइरहेको आइपिएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधान सेनापतिलाई कसरी पठाइयो भनी प्रश्न गरेका छन ।
यसैगरी, प्रतिनिधिसभाकोे बैठकमा सांसदहरूले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उनिहरूले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका फाइल अघि बढाई पीडितलाई राहत दिन माग गरेका छन ।
सांसद आशाकुमारी विकले १७ वर्ष पुगिसक्दा पनि बेपत्ता परिवारले परिचयपत्र पाउन नसकेको भन्दै तत्काल परिचयपत्रको व्यवस्था गरी पीडितलाई राहत दिन सरकारसमक्ष माग गरिन । सांसद इन्दुकुमारी शर्माले अहिले नेपालमा पाँच लाखभन्दा बढी नेपाली गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको र यसले बैंक तथा वित्तीय क्षेत्रमा पैसा अभाव हुन थालेको भन्दै यसलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिइन ।
सांसद कमला रोक्काले रुकुमपूर्वको देउखोलादेखि चीनको नाकासम्म जोड्ने रणनीतिक महत्वको सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइन । सांसद कलिला खातुनले गण्डकी प्रदेशका हरेक क्षेत्रमा गरिएको कर वृद्धिले जनतालाई समस्या भएको भन्दै सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कर वृद्धि रोक्न ध्यानाकर्षण गराइन ।
सांसद कुमारी मेचेले किसानलाई चाँडो मल उपलब्ध गराउन माग गरिन । सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको नागर्जुन नगरपालिका–८ मा हालै चितुवाको आक्रमणबाट एकै परिवारका धेरै व्यक्ति घाइते भएको र उक्त क्षेत्रको बफरजोनको पर्खाल भत्किएकाले जङ्गली जनावार गाउँ पस्ने क्रम बढिरहेकाले मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णकुमार दाहालले काठमाडौँको वैकल्पिक राजमार्गका रूपमा रहेको कान्तिपथ निर्माणमा किन ढिलाइ भइरहेको छ भनी प्रश्न गरे ।

सांसद कृष्णबहादुर राईले मतदाता नामावली सङ्कलन कार्यलाई सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद केदार सिक्देलले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरे । सांसद खेमप्रसाद लोहनीले अरुण खोलाको बाढीबाट २४ वर्षीया शर्मिला रानामगरको निधन भएको भन्दै घटनाका पीडितलाई राहत दिन माग गरे । सांसद गजेन्द्रबहादुर महतले सुर्खेत–जुम्ला सडक समयमै कालोपत्र गर्न माग गरे । सांसद गणेशकुमार पहाडीले सार्वजनिक सुनुवाइलाई कागजरहित बनाउने चालु आवको बजेटमा व्यवस्था भए पनि अझै कार्यान्वयन नभएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्रलगायत महन्वपूर्ण कागजात पूर्ण डिजिटलाइज गर्नुपर्ने माग गरे ।
सांसद गोमा देवकोटाले किसानले मल र विद्यार्थीले अझै पुस्तक नपाएको भन्दै तत्काल सहजीकरण गरिदिन सरकारसँग आग्रह गरिन । सांसद गङ्गा चौधरी सदगौवाले निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्न माग गरिन । सांसद घनश्याम खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाइनुर्नेमा जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *