फिल्म ‘छक्का पञ्जा ४’ को मुख्य भूमिकामा बेनिशा र राज


काठमाडौं, ११ साउन । फिल्म ‘छक्का पञ्जा ४’को मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल र राज आचार्य रहेका छन । सोमवार फिल्म ‘छक्का पञ्जा ४’को घोषण, मुहूर्त र छायांकन सुरु भएको छ । अभिनेत्री बेनिशा हमाल लामो समयदेखि फ्लप फिल्मले धरमराएको करिअरलाई नयाँ जीवन दिने एउटा बलियो फिल्मको प्रतिक्षामा थिइन् । उनको त्यो सपना ‘छक्का पञ्जा ४’ले पूरा गर्नेमा सम्भवतः दुईमत छैन ।
अब आफूलाई पनि धेरैले चिन्ने विश्वास लिएकी बेनिशा ब्रान्ड फिल्मको सिरिजसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्छिन् । आफूलाई दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्ममा काम गर्ने इच्छा ‘छक्का पञ्जा’ आएदेखि नै रहेको उनको भनाई छ । उनले ‘छक्का पञ्जा ४’ पाउनुको किस्सा भने रोचक छ ।

दीपकराज गिरीले एउटा भवनको भूईंतल्लामा उनलाई फिल्मको प्रस्ताव गरेका रहेछन् ।
बेनिशा सम्झन्छिन्, ‘म एउटा फिल्मको प्रिमियरमा गएको थिएँ । बेसमेन्ट (भूईंतल्ला) मा गाडी कुरेर बसिरहेको बेला दीपक दाई र निर्मल दाईसँग भेट भयो । दीपक दाईले ‘असारमा के छ तिम्रो’ भनेर सोध्नुभयो । मैले खाली छु भनेँ । दीपक दाईले ‘खाली नै राख है’ भनेर जानुभयो । म हेरेको हे¥यै भएँ ।’ दीपकराज गिरीले यति भनेपछि आफूले महिनौं फोनको प्रतिक्षा गरेको उनी बताउँछिन् ।
‘असार आउन लाग्दा समेत कसैको फोन नआएन । एकदिन दीपा दिदीले कल गर्नुभयो र एक चरण कुरा त भएको थियो होला नी भनेर सोध्नुभयो । मैले दीपक दाईसँग त्यहीँ भूईंतल्लामा भएको कुरा एक चरणको रहेछ भनेर बुझेँ,’ बेनिशा खुशी प्रकट गरिन् ।

करिअरको सुरुवाती समयदेखि उनी अभिनीत कुनै फिल्म हिट छैनन् । ‘छक्का पञ्जा ४’ले भने उनलाई ठूलो राहत दिने देखिन्छ ।
यसैगरी, डेढ दशकअघिको चर्चित हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको भूमिकामा राज आचार्यले अभिनय गरेका थिए । यो सिरियलले उनलाई बाल्यकालमै दर्शकमाझ लोकप्रिय बनायो । हाँस्य सिरियलको चाम घट्न थालेपछि ‘तितो सत्य’ सधैंका लागि बन्द भयो ।

त्यसपछि अध्ययनमा केन्द्रित भएका राजले २०१९ मा चार्टर्ड एकाउन्टेन्टको पढाई सकाए ।
सिएको अध्ययनपछि कोरोना महामारीको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेका उनले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो पनि कसे । विवाह गरेलगत्तै उनले फिल्मको हिरो बन्ने मौका पाएका छन् । ‘तितो सत्य’मा उनले जसको छोरा भएर वर्षौं अभिनय गरे, उनै (दीपक–दीपा) को फिल्म ‘छक्का पञ्जा ४’मा राज हिरो बनेका छन् । यो उनको डेब्यू फिल्म हो ।
फिल्ममा उनको जोडी परिक्षा लिम्बुसँग बाँधिएको छ ।

सिए अध्ययनकै क्रममा आफूलाई दीपकराज गिरीले एकसाथ काम गर्ने वाचा गरेको स्मरण गर्दै राजले भनेका छन्, ‘सिए पढेर आएपछि मैले २÷३ वटा भिडियोमा अभिनय गरेँ । साढे २ वर्षअघि दीपक ड्याडीसँग च्याटमा कुरा हुँदा ‘हामी सँगै काम गर्छौं तर नहतारिनु’ भन्नुभएको थियो । आज त्यो अवसर जुरेको छ, साह्रै खुशी छु ।’
‘तितो सत्य’मा ठूलो ‘स्पेश’ पाएका राजले नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको ‘छक्का पञ्जा ४’मा कति सशक्त भूमिका पाएका छन् र त्यसमा कति बुलन्द अभिनय गर्न सक्छन्, त्यो भने प्रतिक्षाको विषय बनेको छ । यो फिल्मबाट अभिनयमा राम्रो सम्भावना देखाएको खण्डमा उनको आगामी फिल्मी यात्रा सहज बन्ने निश्चित छ । फिल्म त ‘स्योर सट’ ब्लकबस्टर हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published.