नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भलिबल प्रतियोगिता

काठमाडौं, ११ साउन । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान कैलाश भट्ट तथा पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारसम्मिलित टोली बाना पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका छन् । बानाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिम तथा महिलातर्फ आयोजक बाना च्याम्पियन बन्न सफल भएको हो । सुदूरपश्चिम टेक्सास सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो ।महिलाको फाइनलमा आयोजक बानाले म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिलामा रमिला तण्डुकार बनिन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ५ हजार ५ सय ५५ अमेरिकी डलर हात पा¥यो । उपविजेता बनेको सिन्धु बुद्धले ३ हजार ३ सय ३३ अमेरिकी डलर पार्यो । महिलातर्फको च्याम्पियन बनेको बानाले १ हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताल ५ सय ५५ डलर हात पार्यो ।दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए ।बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी, महाबाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले विजयी खेलाडीहरुलाई पुरस्कृत गरेका छन ।
यसैगरी, मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो ।

उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ हात पारेको छ ।मनकामनाका विवेक श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा क्रिजलका सञ्जय स्याङ्तान उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २ हजार रुपैया प्राप्त गरे । यि खेलाडीले सेक्रेड हार्टमा पढ्न चाहेमा ११ र १२ कक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । राजन मेमोरियलले फेयर प्ले अवार्ड हात पारेको छ ।
विजयी टोली तथा खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा र सेक्रेड हार्ट स्कुलका प्रिन्सिपल बद्रीनाथ भट्टलगायतले पुरस्कृत गरे । विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले विद्यार्थीको चौतर्फी विकासका लागि सेक्रेड हार्ट स्कुलले सदैव सहयोगको लागि तयार रहेको बताए । फाइनल दौरान एबिसी क्लवका अध्यक्ष, विभिन्न विद्यालयका प्रन्सिपल तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लिग कम नकआउटका आधारमा साउन ५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।
यस्तै,नेपाल बुद्धिचाल संघले भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौंको ठमेल पार्क होटलमा सोमबार सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतीमाथि छलफल हुने बताइएको छ ।
पहिलो दिन मनोविद डा. नरेन्द्र ठगुन्ना, बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन् । कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।
बिहीबार सुरु हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङले चुनौती पेश गर्नेछन् ।
सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published.