ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण गर्न जोड

 


तनहुँ ११ साउन । पर्यटकीय प्रवद्र्धन गर्नका लागि ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनमा जोड दिन आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन । व्यास नगरपालिका–१४ स्थित कुलुङ्गमा मंगलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले कुलुङ्ग, छाब्दी तथा बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचुर सम्भावना रहेको नेता पौडेलले बताएका हुन । उनले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताए । हिजोका दिनमा जिल्लाको विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलिका दिनमा पनि काम गरेर देखाउने आफ्नो योजना रहेको जानकारी दिए ।
“म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” उनले भने, “अब गाउँमा विकासको मूल फुटाउने गरी काम गरेर देखाउन चाहन्छ छु ।” व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको बताए ।
विगतमा अवरुद्व भएका विकासलाई निरन्तरता दिँदै थप विकासका बारेमा बुझ्न आफूले घरदैलो अभियान कार्य अघि बढाएको चर्चा गर्दै नेता पौडेलले कुलुङ्ग खानेपानी योजना आफ्नै पहलमा निर्माण भइ उद्घाटनसमेत गरिएको जानकारी दिए ।
यसैगरी, नेता पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन । तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “रोजगारी र सुविधा खोज्दै सहरमा बसाइँसराइ बढेपछि गाउँ रित्तो हुने अवस्थामा पुगेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गराएर गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने ।
गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए । “तनहुँका ग्रामीण क्षेत्रमा मेरो नेतृत्वमा विकासका योजना सुरु भएको हो, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो, अधुरा योजना पूरा गराउनेतर्फ लागेको छु”, उनले भने ।
फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको आवश्यकता रहेको जिकिर गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै त्यसलाई निरन्तरता दिइने बताए ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कांग्रेसको नेतृत्वमा विकास अभियानले पूर्णता पाउने बताए । यही साउन ८ गतेदेखि गृहजिल्लामा रहनुभएका पौडेलले विभिन्न ठाउँमा जनतासँग भेटघाट गरेका छन । पौडेलले सोमबार व्यास–७ को कलेस्ती, छापथोक, मेवाबारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु नगरपालिका–१३ को पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर, आहालेमा जनतासँग भेटघाट गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.